
श्रेणी : मधेस
वीरगंज, ८ चैत – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को चुनावसम्म सत्ताको नेतृत्व नगर्ने दाबी गर्नुभएको छ। वीरगंजको पानीटंकीस्थित डायमण्ड पार्टी प्यालेसमा प्रेस सेन्टर पर्सा द्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आगामी निर्वाचनसम्म आफू जनतासँग रहने बताउनुभयो।
तराई–मधेस जागरण अभियान अन्तर्गत पर्सा पुगेका अध्यक्ष प्रचण्डले वर्तमान सरकारप्रति समेत असन्तुष्टि व्यक्त गर्नुभयो। पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको उत्तर दिँदै उहाँले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको तथा भ्रष्टाचारलाई संरक्षण गरिरहेको आरोप लगाउनुभयो।
सरकार पूर्ण रूपमा असफल भए तापनि आफू नेतृत्व लिन नचाहेको र सधैं जनताको साथमा रहने कुरामा उहाँले विशेष जोड दिनुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा भएका ठूला काण्डहरूको अनुसन्धान अघि बढाएको दाबी गर्दै, हाल सरकारका नेताहरू नै ती काण्डमा मुछिएको हुनाले अनुसन्धान हुन नचाहेको आरोप लगाउनुभयो। “माओवादी चाहे सरकारमा होस् वा बाहिर, सधैं जनताको पक्षमा रहन्छ,” प्रचण्डले दाबी गर्नुभयो।
प्रेस सेन्टर पर्सा का अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटा,नारायणाकाजी श्रेषठ, मातृका यादव, गोन्द्रि देवकोटा लगायतका नेताहरूको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनअघि प्रचण्डले वीरगंजका जनतासँग संवाद गर्नुभएको थियो भने, आजै बिन्दवासिनी गाउँपालिकामा आयोजना गरिने कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले जानकारी दिनुभयो। प्रचण्डले आज विहान वीरगंजको बिभिन्न स्थानमा महानगरका जनता,जनप्रतिनिधि तथा पार्टीका भातृ संगठनका नेताहरूसँग भेटघाट छलफल एवं मर्निङ्ग समेत सहभागी भएका थिए ।


प्रतिक्रिया