वीरगन्ज,०६ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणना लगभग २४ घन्टापछि सुरु भएको छ।
प्रारम्भिक तालिका अनुसार मंगलबार राति १० बजेदेखि मतगणना सुरु गर्ने योजना थियो । तर, निर्वाचन समिति र विद्यार्थी संगठनहरूबीच सहमति जुट्न नसक्दा मतगणना स्थगित हुँदै आएको थियो । बुधबार साँझ ५ बजेदेखि गणना कार्य सुरु भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
चाँडो गणना सम्पन्न गर्नका लागि चार ठाउँबाट एकसाथ गणना कार्य सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए। प्रारम्भिक चरणमा मतपत्र मिलाउने प्रक्रिया पूरा भइसकेको र अब मतगणना तीव्र गतिमा अघि बढ्ने उनले जनाए।
ठाकुरराम क्याम्पसमा मंगलबार सम्पन्न मतदानमा १०,७२९ मतदातामध्ये ४० प्रतिशत (४,३०६ मत) खसेको थियो। स्ववियु सभापति पदका लागि विभिन्न दल निकट विद्यार्थी संगठन र स्वतन्त्र समूहबाट १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
यो निर्वाचनमार्फत सभापति, सचिव, कोषाध्यक्षसहित प्रत्यक्षतर्फ ११ सदस्य र समानुपातिकतर्फ १० सदस्य गरी २१ पद चयन गरिँदै छ। यी पदका लागि कुल २४७ जनाले उम्मेदवारी दिएका छन्।
अब मतगणनाको प्रारम्भिक परिणाम कहिले आउला भन्ने उत्सुकता मतदातामा बढ्दो छ।
प्रतिक्रिया