बीरगन्ज,०६ चैत । नेकपा एमाले बीरगन्ज महानगर कमिटीले चैत ९ गते ‘जरा अभियान’ अन्तर्गत महानगरस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन हर एक पार्टी सदस्यको घरमा पुगेर निमन्त्रणा वितरण गरिँदैछ।
“हामी पार्टी सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न घर-घरमा निम्ता पुर्याइरहेका छौं,” एमाले बीरगन्ज महानगरका इन्चार्ज बिचारी यादवले भने। उनका अनुसार पार्टीको बलियो संगठन निर्माणका लागि जरा अभियान अन्तर्गत कार्यकर्ता परिचालन भइरहेको छ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहने छन्। उनले पार्टीको वर्तमान कार्यभार, भविष्यको रणनीति र समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण धारणा राख्ने नेकपा एमालेका नेता नवराज शर्माले बताए।
महानगर कमिटीले पार्टीका प्रत्येक सदस्यलाई निमन्त्रणा कार्ड हस्तान्तरण गर्दै शहरभरि महासचिवको तस्बिरसहितका पोस्टर टाँस्ने अभियान सञ्चालन गरिरहेको छ।
नेकपा एमाले पर्साका लेखा समितिका अध्यक्ष शिवजी गुप्ताका अनुसार चारैतर्फबाट पार्टीलाई घेराबन्दी गर्ने प्रयास भइरहेका बेला राष्ट्रिय शक्ति निर्माणको संकल्पसहित यो अभिमुखीकरणको आयोजना गरिएको हो।
कार्यक्रम बीरगन्ज क्लासिक ब्यांक्वेटमा हुनेछ। पार्टीका वडा कमिटीहरूलाई समेत अभिमुखीकरणमा केन्द्रित गराउन बैठकहरू भइरहेका छन्।
एमालेको ‘जरा अभियान’ के हो?
नेकपा एमाले केन्द्रीय कार्यालयले माघ, फागुन र चैतभरि ‘जरा अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानको उद्देश्य पार्टीको आधारभूत तहलाई सुदृढ गर्दै मिशन २०८४ (आगामी निर्वाचन) को तयारी गर्नु हो।
महानगर अध्यक्ष राजेन्द्र यादवका अनुसार, “पार्टीलाई बलियो बनाउन र जनतासँग अझ नजिक बनाउन कार्यकर्ता परिचालनमा जुटेका छौं।”
कार्यक्रममा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतिक्रिया