वीरगन्ज :

वीरगंज नर्सिङ्ग कलेजको मतगणना अन्यौलमा, पुनः निर्वाचनको माग

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.7kViews
1885 Shares

वीरगंज, ६ चैत – वीरगंज नर्सिङ्ग कलेजको निर्वाचन प्रक्रियामा गम्भीर त्रुटि तथा धाँधली भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल (क्रान्तिकारी) ले विरोध गरेपछि मतगणना अन्यौलमा परेको छ।

सदर र बदर मतको विषयमा विवाद उत्पन्न भएपछि नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले कलेजको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका थिए। साथै, उनीहरूले क्याम्पस प्रमुखको राजीनामा माग गरेका छन्। दुवै संगठनले क्याम्पस प्रशासन र निर्वाचन समितिले मिलेमतो गरेर धाँधली गरेको आरोप लगाएका छन्।

मतगणना लगभग सकिनै लाग्दा विवाद उत्पन्न भएको थियो। नेविसंघले क्याम्पस प्रशासनले एक विशेष संगठनलाई जिताउन बदर मतहरूलाई समेत सदर गरेको आरोप लगाएको छ। क्याम्पस प्रमुख डा. कल्पना पौडेल र निर्वाचन अधिकृत अञ्जु कुमारी महतोमाथि निष्पक्ष मतगणनामा हस्तक्षेप गरेको आरोप लगाउँदै नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीहरू आक्रोशित बनेका छन्।

प्रदर्शन र पुनः निर्वाचनको माग
मतगणनाको निष्पक्षतामा प्रश्न उठाउँदै नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले पुनः निर्वाचनकाे माग गरेका छन्। साथै, उनीहरूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा समेत माग गरेका छन्।

मङ्गलबार भएको निर्वाचनमा कलेजका २७३ मतदातामध्ये २७२ जनाले मतदान गरेका थिए। मतगणना स्थगित हुनुअघि अध्यक्ष पदमा अनेरास्ववियुकी आर्जु राय ८६ मतसहित अग्रस्थानमा थिइन्, नेविसंघकी दियान्सु श्रेष्ठ ७८ मतसहित दोस्रो र अखिल (क्रान्तिकारी) की कविता आचार्य ५२ मतसहित तेस्रो स्थानमा थिइन्। बाँकी मतहरूको गणना भइरहँदा विवाद चर्किएको थियो।

राति नै सहमतिको प्रयास गरिए पनि कुनै सहमति हुन नसकेपछि मतगणना स्थगित गरिएको हो। निर्वाचन समिति अनुसार रोकिएको मतगणना पुनः सुरु गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। नेविसंघ र अखिल (क्रान्तिकारी) ले निर्वाचनमा धाँधली भएकाले पुनः निर्वाचन गर्नुपर्ने अडान लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *