
सर्लाही,०८ फाल्गुन । सर्लाहीको हरिवन नगरपालिका-८ स्थित इन्दु शंकर चिनी उद्योगले उखु किसानहरूलाई भुक्तानी गरेको छ। चालु सिजनको क्रसिङ पुस पहिलो साताबाट सुरु गरेको उद्योगले माघ ३० गतेसम्म करिब २३ लाख ४३ हजार क्विन्टल उखु प्रशोधन गरिसकेको छ।
उद्योगका प्रशासकीय प्रवन्धक ठाकुर प्रसाद नेपालका अनुसार उद्योगले किसानहरूलाई उखु बिक्री गरेपछि एक हप्ताभित्रै भुक्तानी दिँदै आएको छ। हालसम्म किसानहरूलाई कुल रु १ अर्ब २२ करोड ३५ लाख ४४ हजार भुक्तानी गरिसकिएको छ।
उखु प्रवन्धक योग नारायण रजकका अनुसार उद्योगले यस वर्ष अघिल्लो वर्षको तुलनामा ६ लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। साथै, उन्नत जातको उखु बीउ वितरण, माटो परीक्षण, आधुनिक कृषि उपकरण हस्तान्तरण, उत्पादन प्रविधिको प्रशिक्षण, र स्थलगत अवलोकनमार्फत किसानहरूलाई थप सक्षम बनाउने योजनासमेत अघि बढाइएको छ।
सरकारले किसानलाई रु ७० प्रति क्विन्टल अनुदान दिने निर्णय गरेको छ भने उद्योगले रु ५८५ थपेर कुल रु ६५५ प्रति क्विन्टल भुक्तानी गरिरहेको छ। देशभरका चिनी उद्योगहरूमध्ये समयमै भुक्तानी गर्ने उद्योगका रूपमा इन्दु शंकर चिनी उद्योगले करिब १२ हजार किसानहरूसँग उखु खरिद गर्दै आएको जनाएको छ।

    
						
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया