बीरगन्ज, ०४ फाल्गुन । बीरगन्जस्थित मुलुककै रेल सुविधा सम्पन्न पहिलो सुख्खा बन्दरकाहको रपमा रहेका सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन भएको र माघमा लक्ष्यको ९३ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक मन्दीका कारण घट्दै गएको राजस्व सङ्कलन पछिल्ला केही महिनादेखि क्रमिक सुधार हुँदै आएको बताईएको छ ।
साउन महिनाका लागि भन्सार विभागले चार अर्ब ७३ करोड ३१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकाेमा कार्यालयले तीन अर्ब ७५ करोड २२ लाख रुपैयाँ सङ्कलन गरेको थियो भने माघका लागि चार अर्ब ६२ करोड ४८ लाख रुपैयाँ लक्ष्य तोकिएकामा कार्यालयले चार अर्ब २९ करोड ९२ लाख रुपैयाँ सङ्कलन गरेको कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिए ।
उनका अनुसार लामो समयदेखि औद्योगिक कच्चा पदार्थको न्यून आयात हुँदै आएकाेमा पछिल्लो केही महिनादेखि सुधार हुँदै गएकाले राजस्व सङ्कलनमा पनि सुधार देखिएको हाे ।
बारा पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित फलाम उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयात बढेकाले आउने दिनमा राजस्व सङ्कलनमा थप सुधार हुने अपेक्षा गरिएको कार्यालय प्रमुख बरुवालको भनाइ छ । उनले औद्योगिक कच्चा पदार्थको आयातमा क्रमिक सुधार देखिए पनि मदिरा र बिलासी उपभोग्य वस्तुको आयातमा खासै सुधार नभएको बताए ।
समग्रमा चालु आर्थिक वर्षका सात महिनामा लक्ष्यको ८२ प्रतिशत र वार्षिक लक्ष्यको ४६ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । विभागले कार्यालयका लागि सात महिनामा कुल ३३ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । वर्षभरिका लागि भने ६० अर्ब चार करोड ८७ लाख रुपैयाँ लक्ष्य दिएको छ ।
प्रतिक्रिया