वीरगन्ज :

धनुषामा नगर प्रमुखद्वारा प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.6kViews
1933 Shares

जनकपुर,३० माघ । धनुषाकाे विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले प्रहरीकै अगाडि प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएका छन्।

शिक्षा सेवा आयोगबाट सिफारिस भइ आएकी शिक्षकलाई हाजिर गराउँदा नगर प्रमुखको छोरा राम भजन दासले कार्यकक्षमै कुटपिट गरेपछि प्रमुख दासले अधिकृत साहलाई गोली हान्ने चेतावनी दिएका हुन्।

सोमबार शिक्षिकालाई हाजिर गराउँदा नगर प्रमुखको छोराले कार्यकक्षमै गालीगलौज गर्दै कुटपिट गरेपछि अधिकृत साहले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। मंगलबार नगर प्रमुख दासले उनलाई कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएका हुन्।

“कार्यालयमा असुरक्षित भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट सुरक्षार्थ खटिएका प्रहरीकै अगाडि नगर प्रमुख दासले गोली हान्ने धम्की दिएका छन्,” प्रशासकीय अधिकृत साहले भने। “कुटपिटपछि कानुनी कारबाहीको प्रयास गर्दा झन् धम्कीको सामना गर्नुपर्‍यो।”

नगर प्रमुखबाट धम्की आएपछि अधिकृत साहले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गरेका छन्। उनी माघ २ गते विदेह नगरपालिकामा हाजिर भएका थिए तर कार्यभार सम्हालेदेखि नै विभिन्न धाकधम्की, गालीगलौज र अपशब्दको सामना गरिरहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *