
श्रेणी : अपराध
वीरगन्ज,२९ माघ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयाबाट प्रहरीले ४ किलो ५ सय ग्राम लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा माघ २८ गते दिउँसो पौने ३ बजे पथलैया क्षेत्रमा चेकिङ गर्ने क्रममा गाँजासहित व्यक्ति पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नारायणघाटबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख ५३०९ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा एक व्यक्तिको साथमा रहेको कालो झोलाबाट ४ किलो ५ सय ग्राम लागू औषध गाँजा फेला परेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, भँवरा गाउँ, वडा नम्बर ८ बस्ने करिब ४५ वर्षीय विजय श्रीवास्तव रहेका छन् । उनलाई लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार लागू औषधको ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रणलाई प्रहरीले निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया