वीरगन्ज :

पर्साका किसानको बाली संकट: हिउँदमा वर्षा नहुँदा उत्पादन घट्ने चिन्ता

श्रेणी : कृषि

5 months
Pradeep Sah
1.8kViews
1434 Shares

वीरगन्ज,२८ माघ । हिउँदभरि पानी नपरेपछि पर्साका किसानलाई लगाएको बालीनाली नसप्रिने चिन्ताले सताएको छ। पानी अभावका कारण तोरी, गहुँ लगायतका हिउँदे बालीमा उत्पादन घट्ने सम्भावना बढेको किसानहरूको भनाइ छ। सिँचाइको सुविधा नभएका खेतहरूमा समस्या झनै गम्भीर भएको छ।

पर्साका कृषि ज्ञानकेन्द्रका प्रमुख रामजीवन ठाकुरले आवश्यक समयमा पानी नपर्दा गहुँ र दलहन बालीमा उत्पादन घट्ने खतरा रहेको बताए। “गहुँमा सामान्यतया दुईपटक सिँचाइ गर्नुपर्छ, दलहन बालीमा कम्तीमा एकपटक पानी आवश्यक हुन्छ,” उनले भने। तर सिँचाइको अभावले गर्दा गहुँको दाना लाग्ने प्रक्रिया नै प्रभावित भएको ठाकुरले जनाए।

किसानहरूले सुक्खा हावाका कारण गहुँमा दाना नलाग्ने र सानो आकारको दाना लाग्ने समस्या देखा परेको बताएका छन्। यस्तै, तोरी बालीमा पनि कम फल लाग्ने संकेत देखिएको छ।

पानी मात्र नभई कीराको समस्या पनि किसानको चुनौती बनेको छ। गएको मंसिरमा धान बालीमा लागेको फौजी किराले अहिले गहुँमा पनि प्रकोप फैलाउन थालेको छ।

कृषि विज्ञहरूका अनुसार पानी र मलको सन्तुलन नमिल्दा बालीको उत्पादनमा ठूलो असर पर्छ। “यदि छिट्टै पानी नपरे सिँचाइ सुविधा नभएका किसानलाई ठूलो नोक्सानी हुनेछ,” ठाकुरले चेतावनी दिए।

यसप्रति चिन्ता व्यक्त गर्दै किसानहरूले सरकारले सिँचाइ सुविधा र कीरा नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। “पानी पर्दैन भने उत्पादन घट्ने मात्र होइन, हाम्रो जीविकोपार्जनमै असर पर्ने अवस्था छ,” एक स्थानीय किसानले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *