वीरगन्ज :

भियतनामी नागरिक वीरगन्जबाट पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

6 months
Pradeep Sah
2.0kViews
1963 Shares

वीरगन्ज,२८ माघ । ललितपुरबाट चार वर्षीय बालक अपहरण गरी बन्धक बनाएर वीरगन्जकाे बाटो हुँदै भारत लिएर जान खोजिरहेको आरोपमा एक भियतनामी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिको परिचय भियतनामको चाइवाङ सहरका माइ होआङ किन्ह लउनका रूपमा खुलेको छ ।

प्रहरीका अनुसार लउनले बालकलाई ललितपुरको मंगलबजार क्षेत्रबाट अपहरण गरेका थिए । बिहीबार साँझ बालकको आमाले आफ्नो छोरा हराएको भन्दै उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खोजी कार्य सुरु गरेको थियो ।

प्रहरीको अनुसन्धानपछि काठमाडौँको कलंकीस्थित इलाम मेची गेस्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई बन्धक बनाइएको अवस्थामा फेला पारिएको थियो । प्रहरीले शुक्रवार साँझ वीरगन्ज जाने तयारीमा रहेका लउनलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा लउनले लामो समयदेखि बालकलाई चकलेट र चिप्स खुवाउँदै विश्वास जितेर आफूतर्फ आकर्षित बनाएको खुलासा भएको छ । प्रहरीका अनुसार बालककी आमा पाटन क्षेत्रमा चिया बेच्ने गर्थिन्, र लउन त्यहीँ गएर चिया खान्थे । त्यही अवसरमा उनले बालकलाई पटक–पटक चकलेट र चिप्स दिन्थे, जसले गर्दा बालक उनमा विश्वास गर्न थालेका थिए ।

प्रारम्भिक बयानमा लउनले बालकलाई भारतको कुनै बालगृहमा राखेर शिक्षा दिन चाहेको बताएका छन् । प्रहरीले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको छ ।

यसअघि पनि लउन नेपाल आएका थिए भन्ने तथ्य फेला परेको छ । प्रहरीका अनुसार उनी १४ महिना अगाडि नेपाल आएका थिए र त्यस समयमा होस्टेल तथा होटेलहरूमा बसेका थिए । उनी केही समय गुम्बामा भाषा सिक्नसमेत गएका थिए ।

लउन भारतमा पनि बसेका थिए र त्यहाँ उनले नक्कली आधार कार्डसमेत बनाएको खुलेको छ । प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, तीन वटा मोबाइल, एक ल्यापटप, दुई वटा नक्कली भारतीय आधार कार्ड, एक बस टिकट र एक चक्कु बरामद गरेको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *