
श्रेणी : धर्म संस्कृति
जनकपुर,२६ माघ । करिब डेढ करोड रुपैयाँको लागतमा जनकपुरधामको ऐतिहासिक राम मन्दिरको सौन्दर्यकरण कार्य सुरु हुने भएको छ। मन्दिर परिसरमा प्रवेशद्वार निर्माण तथा पार्क निर्माणलगायतका काम सम्पन्न गरिनेछ।
मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले संसदीय कोषबाट ५० लाख रुपैयाँ, जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख रुपैयाँ, र प्रतिनिधिसभा सदस्य मनिष झाले पनि संसदीय कोषबाट ५० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
शनिबार राम मन्दिरको दक्षिणपट्टि निर्माण हुने प्रवेशद्वारको सिलान्यास सांसद ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्तरूपमा गरे।
महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले प्रवेशद्वार निर्माणपछि दोस्रो चरणमा पार्क निर्माण हुने जानकारी दिए। उनका अनुसार सौन्दर्यकरणले पर्यटक र भक्तजनको आकर्षण थप्ने अपेक्षा गरिएको छ।
राम मन्दिर दैनिक हजारौं आन्तरिक तथा भारतीय पर्यटकहरूको गन्तव्य रहेको जनकपुरधामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो।

प्रतिक्रिया