श्रेणी : अपराध
वीरगन्ज, २३ माघ । बारा प्रहरीले करिब ६४ लाख २२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित एउटा ट्रक र एउटा पिकअप नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पथलैयाले चेकजाँच गर्दा बिल भरपाईभन्दा बढी र स्रोत खुलाउन नसकिएका सामान बरामद गरेकाे हो ।
प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्जबाट ४१ लाख ८६ हजार ३०० रुपैयाँ बराबरको हार्डवेयर सामग्री, नेपाली कपडा र चिनी बोकेको ना ६ ख ८३०५ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.२–०३–००१ च ०७७५ नम्बरको पिकअपमा २१ लाख ७४ हजार ८०० रुपैयाँ बराबरको ब्रास युटेन्सिल बोकेको ४७ बोरा सामान बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरी चौकी पथलैयाले गौरबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६३ नम्बरको बसबाट ६३ हजार ३५० रुपैयाँ बराबरका चार कार्टुन चार्जर र डाटा केबल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले चेकजाँचका क्रममा बिल नभेटिएपछि सामानहरू नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया