वीरगन्ज :

अनुहार हेर्न मन नलाग्नेहरू नै सत्ता खोज्दै म कहाँ आए: माधव नेपाल

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.0kViews
1034 Shares

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको राजनीतिक पहिचान स्थापित भइसकेको दाबी गरेका छन्। आइतबार बीरगन्जमा आयोजित नेकपा (एकीकृत समाजवादी) पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपालले पार्टीको शान र इज्जतसहित नेपाली राजनीतिमा उभिएको उल्लेख गरे।

उनले भने, “नेकपा (एकीकृत समाजवादी) अब स्थापित दल हो। यो पार्टीले आफ्नो सम्मानित स्थान बनाइसकेको छ।”

नेपालले नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीको पटक-पटक विभाजनलाई दुर्भाग्यपूर्ण भने। साथै, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दै उनले राज्य र दलहरूले महान योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेपालले आफ्नो ‘अनुहार हेर्न पनि मन नलाग्ने’ भनेका व्यक्तिहरू नै सत्ता र कुर्सीको लागि आफू कहाँ दौडिएर आएको टिप्पणी गरे। नेपालले थपे, “जस्तो बीउ रोपिन्छ, त्यस्तै फल फल्छ। घृणाको बीउ रोप्नेहरूले घृणाकै फल पाउँछन्।”

नेपालको सानो क्षेत्रफल भए पनि देशको आफ्नो स्वाभिमान र प्रतिष्ठा रहेको बताउँदै नेपालले चीन र भारतजस्ता दुई ठूला शक्तिराष्ट्रबीच नेपालले सन्तुलन राख्नुपर्ने धारणा व्यक्त गरे। उनले विभिन्न देशका नेताहरूसँग नेपालको हित र प्रतिष्ठा बढाउन संवाद गरेको उल्लेख गरे।

पार्टी बलियो बनाउन जनताको विश्वास र समर्थन आवश्यक रहेको बताउँदै उनले कार्यकर्तालाई जनताका समस्या बुझ्न र समाधान गर्न प्रयास गर्न आग्रह गरे। “जनताको पिडा र समस्या बुझ्ने पार्टीलाई नै जनताले समर्थन दिन्छन्,” उनले भने।

नेकपा (एकिकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी,जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनेश प्रसाद यादव,राप्रपाका नेता सुमेश्वरनाथ उपाध्याय लगायतकालेपनि सम्बोधन गर्दै अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *