
श्रेणी : मधेस
बीरगन्ज,२७ पुस । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारलाई दबाब दिएका छन्। शनिबार बीरगन्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले बीरगन्जको आर्थिक सम्भावनालाई उजागर गर्दै यस्तो माग राखेका हुन्।
साहले भने, “काठमाडौं प्रशासनिक राजधानी हो। अब देशको आर्थिक राजधानी बीरगन्जलाई बनाउनु पर्दछ। यदि सरकार गम्भीर भएन भने बीरगन्जका जनता चुप लागेर बस्ने छैनन्।”
पूर्वमन्त्री साहले बीरगन्जको नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्न माग गर्दै भने, “जनताको आवश्यकता पूरा गर्न सरकारले कदम चाल्नुपर्छ। नेताहरूले जनताको आवाज नसुने विगतमा राजालाई सत्ताबाट हटाएजस्तै नेताहरूसमेत जनताले कुर्सीबाट हटाउन सक्छन्।”
साहले वर्तमान कर प्रणालीले उद्योगी, व्यापारी र सर्वसाधारणलाई दुःख दिएको भन्दै यसलाई सच्याउन माग गरे। उनले मधेस प्रदेशप्रति केन्द्र सरकारको बजेटीय विभेदप्रति आपत्ति जनाउँदै भने,”मधेस प्रदेशले सबैभन्दा बढी राजस्व योगदान गर्दछ। तर, केन्द्र सरकारले थोरै बजेटमात्रै दिन्छ, जुन अस्वीकार्य छ।”
सरकारले जनताको आवाज दबाउने प्रयास गरे कठोर आन्दोलन हुने चेतावनी दिँदै साहले भने, “अब जनताले करको दुरुपयोग सहन सक्दैनन्। यो आन्दोलन अझ कडा हुनेछ।”
साहका यी अभिव्यक्तिहरूले बीरगन्जको विकास र मधेस प्रदेशका अधिकारको विषयमा नयाँ बहस खडा गरेको छ।


प्रतिक्रिया