वीरगन्ज :

इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी: पेट्रोलियम ढुवानी व्यवसायीहरू आन्दोलित

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
3.0kViews
1644 Shares

काठमाडौं,२३ पुस । नेपाल आयल निगमले ढुवानीसम्बन्धी समस्या समाधानमा चासो नदेखाएको भन्दै तीनवटा पेट्रोलियम ढुवानी संस्थाले बुधबारदेखि इन्धन ढुवानी पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएका छन्।

अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अमलेखगञ्ज, र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ अमलेखगञ्जले संयुक्त विज्ञप्ति जारी गर्दै २४ पुसदेखि अनिश्चितकालका लागि ट्यांकर सञ्चालन बन्द गर्ने घोषणा गरेका हुन्।

ती संस्थाले निजी ढुवानी ट्यांकर–ट्रक व्यवस्थापन, बरौनी–अमलेखगञ्ज रुटका १०४ ट्यांकरको व्यवस्थापन, करार सम्झौता कायम, र ५० लिटरभन्दा बढी इन्धन भण्डारणसम्बन्धी विवाद खारेजलगायतका माग राख्दै निगमलाई पटक–पटक ज्ञापन पत्र बुझाएका थिए।

निगमले तोकिएको समयभित्र माग सम्बोधन नगरेपछि उनीहरूले आन्दोलन थाल्नुपरेको बताएका छन्।

व्यवसायीहरूका अनुसार बुधबारदेखि भारतको बरौनी रिफाइनरीबाट पेट्रोल लोडिङ र अमलेखगञ्ज डिपोमा अनलोडिङ प्रक्रिया ठप्प पारिनेछ। यसले विराटनगर, भैरहवा, जनकपुरलगायतका क्षेत्रमा पेट्रोल आपूर्ति प्रणालीमा अवरोध सिर्जना गर्ने देखिएको छ।

ढुवानी व्यवसायीहरू मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजनापछि आफ्नो व्यवसाय र रोजगारी गुम्ने चिन्तामा छन्। अमलेखगञ्ज–दाङ रुटमा ट्यांकर परिचालनका लागि पटक–पटक ज्ञापन बुझाउँदा पनि निगमले चासो नदेखाएको व्यवसायीहरूको गुनासो छ।

पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिव राम ठकुरीले निगमको लापरवाहीले आफूहरूलाई आन्दोलनमा जान बाध्य बनाएको बताए। “सरकारले व्यवसायी र चालकहरूको भविष्य सुनिश्चित नगरेसम्म आन्दोलन जारी रहनेछ,” उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *