श्रेणी : प्रदेश
काठमाडाैं, २१ पुस । प्रतिकूल मौसमका कारण मुलुकका विभिन्न विमानस्थलमा आन्तरिक हवाई उडान प्रभावित भएको छ। खराब भिजिबिलिटी (दृश्यता) का कारण भद्रपुर, भरतपुर, पोखरा, र सुर्खेतबाहेकका विमानस्थलमा उडान सुचारु हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) अनुसार उडान भइरहेको भए पनि काठमाडौं बाहिरका धेरै विमानस्थलमा बिहानैदेखि उडान ठप्प छन्। बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार तराई क्षेत्रको बाक्लो हुस्सुका कारण धेरै विमानस्थल ढिलो गरी खुलिरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना छ। मौसमविद् बिनु महर्जनका अनुसार बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा सोमबार र मंगलबार हल्का वर्षा हुन सक्ने सम्भावना छ ।
कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र मधेस प्रदेशको पूर्वी भूभागमा मौसम साधारणतया बदली रहेको छ भने कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ ।
उडानको सहजता सुनिश्चित गर्न मौसममा सुधारको प्रतीक्षा गरिरहेको विमानस्थल प्रशासनले यात्रुहरूलाई धैर्य रहन आग्रह गरेको छ ।

प्रतिक्रिया