श्रेणी : प्रदेश
काठमाडौं, २० पुस । नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय अझै तय नभए पनि पार्टीभित्र तयारी तीव्र भएको छ। नेताहरू महाधिवेशन केन्द्रित भेटघाट र जिल्ला दौडाहामा सक्रिय छन्।
महाधिवेशनको पहिलो चरण मानिने क्रियाशील सदस्यता वितरण र नवीकरणमा केही ढिलाइ भएको छ। केन्द्रबाट पठाइएका सदस्यता फर्महरू तल्लो तहमा रोकिएका कारण प्रक्रिया तीव्र हुन नसकेको कांग्रेस नेताहरू बताउँछन्।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले चैत मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने निर्णय गरेको छ। समितिका सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार सदस्यता व्यवस्थापनमा अवरोध भएमा केन्द्रले हस्तक्षेप गर्ने नीति अपनाएको छ।
कांग्रेस नेताहरूबीच महाधिवेशनको समयलाई लिएर विभिन्न तर्कहरू उठिरहेका छन्। नेता गोपालमान श्रेष्ठले महाधिवेशन २०८३ सालको मंसिरमा मात्र सम्भव हुने दाबी गरेका छन्। अर्कोतर्फ, नेता शशांक कोइरालाले आम निर्वाचनको मुखमा महाधिवेशन गर्नु पार्टीलाई हानिकारक हुने बताएका छन्। उनका अनुसार महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि वा त्यसपछि गराउन उपयुक्त हुन्छ।
कांग्रेसले संशोधित विधानअनुसार महाधिवेशनको तयारी गरे पनि विधान मस्यौदा समिति गठन प्रक्रिया सुस्त देखिएको छ।
महाधिवेशनको समय तय गर्न नेतृत्व तहमा मतभेद भए पनि कांग्रेस नेताहरू तयारीका लागि सक्रिय छन्। पार्टीको आन्तरिक संरचना व्यवस्थापन र महाधिवेशनको समय निर्णयले आगामी रणनीतिमा प्रभाव पार्ने देखिन्छ।
प्रतिक्रिया