
श्रेणी : मधेस
रौतहट,१७ पुस । रौतहट प्रहरीले एकै दिनमा ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटबाट दण्ड जरिवाना रोकिएर लामो समयदेखि फरार रहेका यी प्रतिवादी विभिन्न अपराधका आरोपमा थिए।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका ८, चेक अनादर मुद्दाका ६, अभद्र व्यवहारका ६, बोक्सीको आरोपमा ४, कुटपिटका ३, गाली बेइजत्तिका ३, लेनदेन बिगोका १, र नापतौल कसुरका १ जना प्रतिवादी छन्। उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको थियो। सबैलाई करिब ६५ हजार रुपैयाँ जरिवाना र ६ महिना कैद सजायको प्रक्रिया सुरु गरिएको छ।
यसैगरी, प्रहरी टोलीले १ थान ई रिक्सा चालकसहित लाखौं मूल्य बराबरको अवैध भारतीय सामान बरामद गरेको छ। भारतीय बजारबाट चिनी, मैदा, जुत्ता चप्पल र युरिया मलसहित ४ लाख १८ हजार १४० रुपैयाँ बराबरको सामान तस्करी हुँदै गरेको अवस्थामा मधेश प्रदेश ३००१ ह नम्बरको ई रिक्सा र चालक विधिचन सहनीलाई पक्राउ गरिएको छ। उक्त सामान र चालकलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा फरार प्रतिवादी पक्राउ अभियान र तस्करी नियन्त्रणमा कडाई गरिएकाे छ।

प्रतिक्रिया