वीरगन्ज :

नयाँ वर्षमा ठोरीमा भारतीय पर्यटकको भीड

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
1.6kViews
1205 Shares

बीरगन्ज,१७ पुस । इस्वी संवत् २०२५ को पहिलो दिन, ठोरी गाउँपालिका भारतीय पर्यटकको भीडले खचाखच भरिएको छ। नयाँ वर्ष मनाउन छिमेकी भारतका विभिन्न शहरबाट ठोरीमा पर्यटकहरूको आगमन भएको हो। ठोरीका होटल र रिसोर्ट भरिभराउ भएका छन्।

ठोरी जंगल रिसोर्टका सञ्चालक धिर सिंहका अनुसार नयाँ वर्षका अवसरमा भारतीय पर्यटकहरूको आगमनले व्यवसायलाई उचाइमा पुर्‍याएको छ। “अधिकांश होटल भरिएका छन्, हामीलाई भ्याइनभ्याइ छ,” सिंहले भने।

ठोरी, पर्सा जिल्लामा अवस्थित, स्वदेशी र विदेशी दुवै पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ। यहाँका राई धारा, सेतो पहाड, गोले डाँडा, रानीवन, अमृत धारा, सीतागुफा, स्टोन पार्क, बाघमोर्चा मन्दिरजस्ता करिब ५० पर्यटकीय स्थल प्रमुख आकर्षणका रूपमा रहेका छन्।

ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको संगमस्थल हो, जसले वन्यजन्तु र वनस्पति अवलोकन गर्न चाहने प्रकृति प्रेमीहरूलाई आकर्षित गरेको छ। भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न पनि धेरै पर्यटक ठोरी पुग्छन्।

भारतका जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर, र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका छन्। बीरगन्ज अध्यागमन कार्यालयका अनुसार सन् २०२४ को शुरुवातमै २,०८६ भारतीय पर्यटक नेपाल भित्रिएका छन्, जसमा ठोरी पनि प्रमुख गन्तव्य रहँदै आएको छ।

बीरगन्ज र पर्सा गढीमा पनि चहलपहल
नयाँ वर्षमा बीरगन्जकाे होटलहरू ६० प्रतिशत हाराहारीमा भरिएका छन्। सीमावर्ती रक्सौलसँग जोडिएका धार्मिक स्थलहरू र ऐतिहासिक पर्सा गढीमा पनि स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढेको छ।

पर्सा गढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकका अनुसार, स्थानीय पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारले आगन्तुकहरूको संख्या थप वृद्धि गर्न सक्छ। उनले आगामी पुस १९ गते पर्सा गढीमा मनाइने २१०औँ विजय महोत्सवमा पनि उल्लेख्य संख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे।

ठोरी र आसपासका क्षेत्रको पर्यटन विकासले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै जाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *