वीरगन्ज :

उपकरण बिग्रिएपछि हेटौँडा सिमेन्ट आर्थिक सङ्कटमा

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
3.0kViews
1053 Shares

हेटौँडा,१४ पुस । उपकरणको समस्या समाधान नहुँदा हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटको सामना गरिरहेको छ। गत असोज १५ देखि उत्पादन ठप्प भएपछि पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, र इन्धन खर्चले उद्योगको आर्थिक भार बढाएको छ।

उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार बिग्रिएको उपकरण मर्मत गर्न भारतबाट प्राविधिक ल्याउनुपर्ने भएकाले मर्मत कार्यमा समय लागेको हो। उनले भने, “हामीसँग कच्चा पदार्थ र कोइलाको पर्याप्त मौज्दात छ, तर उपकरण मर्मत नभएसम्म उत्पादन सम्भव छैन।”

उद्योगले आर्थिक समस्या झेल्दै गर्दा पनि मर्मतपछिको उत्पादनका लागि तयारी गरिरहेको छ। “मर्मत सकिएपछि तुरुन्त उत्पादन सुरु गर्ने योजना छ,” भण्डारीले थपे।

गत भदौको तेस्रो साताबाट पुनः सञ्चालनमा आएको उद्योगले दुई महिनामा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो। तर, उपकरण बिग्रिएपछि उत्पादन पुनः ठप्प भएको छ। यसअघि पनि आर्थिक अभावकै कारण दुई महिना उद्योग बन्द रहनु परेको थियो।

हेटौँडा सिमेन्ट उद्योगले उपकरण मर्मत सम्पन्न गरी पुनः उत्पादन थाल्ने आशा गरे पनि लामो समयको ठप्पीले उद्योगको आर्थिक स्थिति थप चुनौतीपूर्ण बन्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *