श्रेणी : मधेस
सिरहा,०९ पुस । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा सोमबार दुई समूहबीच भएको झडपमा प्रदेशसभा सदस्य शाहिदा खातुनसहित १८ जना घाइते भएका छन्। झडपको कारण गाउँमा हत्या घटनालाई लिएर भएको विवाद रहेको प्रहरीले जनाएको छ।
गत कात्तिक २७ गते २० वर्षीय कृष्णकुमार महराको हत्या प्रकरणमा छलफल गर्न भेला भएका स्थानीयवासीलाई प्रदेशसभा सदस्य खातुनका भाइ मोहम्मद रहिमसहितको समूहले कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
घटनामा दुवै पक्षका ९–९ जना घाइते भएका छन्। घाइतेहरूको गोलबजारस्थित भुमिजा अस्पताल र वर्धमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
पीडित पक्षका अनुसार हत्या घटनामा आरोपित व्यक्तिलाई गाउँ छाड्न दबाब दिएको भन्दै खातुनमाथि आरोप लगाइएको छ। खातुनले भने कुनै दबाब नदिएको र यो आफूलाई बदनाम गर्ने उद्देश्यसहितको षड्यन्त्र भएको दाबी गरिन्।
खातुनले स्थानीय मदरसाका अध्यक्ष मोहम्मद सोवरथमाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै, यो विषयमा चासो राखेका कारण सोवरथ पक्षले उनीमाथि हमला गरेको दाबी गरिन्। सोवरथले भने खातुन पक्षले बिनाकारण गाउँलेलाई धम्की दिने र डराउने गरेको आरोप लगाएका छन्।
घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुबै पक्षबाट उजुरी दर्ता भएपछि थप अनुसन्धान अघि बढाउने जनाएको छ। यो झडपले स्थानीय तहमा हत्या जस्ता गम्भीर घटनाको छानबिन प्रक्रिया र त्यसमा राजनीतिक हस्तक्षेपका कारण उत्पन्न हुने समस्याबारे गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया