वीरगन्ज :

पेट्रोल, ग्यास र हवाई इन्धनकाे आयात बढ्यो

श्रेणी : अन्तर्राष्ट्रिय

8 hours
Pradeep Sah
2.7kViews
1327 Shares

काठमाडौं, ०८ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ ।
यसले विद्युतीय सवारीसाधनको बढ्दो चापसँगै पेट्रोलियम पदार्थको आयात न्यून गर्ने सपना तत्कालै भने असम्भव जस्तै देखिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ ।

यस वर्ष मसिंरसम्म ४ लाख ७२ हजार ८ सय ७ किलोलिटर डिजेल आयात भएको छ । गत आव मंसिरसम्म ४ लाख ८९ हजार ९ सय ३६ किलोलिटर डिजेल आयात भएको थियो । यस वर्ष डिजेल आयातमा विदेशिने रकम समेत घटेको छ ।

मंसिरसम्म डिजेल आयातमा ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबर रकम विदेशिएको छ । गत आव मंसिरसम्म ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँ बराबर रकम डिजेल आयातमा विदेशिएको थियो ।

यस वर्ष पेट्रोल आयात ३ लाख ६ हजार २ सय २९ किलोलिटर बराबर भएको छ । गत वर्ष मंसिरसम्म २ लाख ८१ हजार ९ सय ७० किलोलिटर बराबर थियो ।

पेट्रोल आयातमा खर्च भएको रकम भने यस वर्ष केही कम भएको छ । यस वर्ष मंसिरसम्म २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पेट्रोल आयातमा खर्च भएको छ । गत वर्ष यो रकम २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *