श्रेणी : प्रदेश
काठमाडौँ,०७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच जनाविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग पत्र दर्ता गरिने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूमाथि सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप लगाउँदै मुद्दा दर्ता गर्न लागेको हो।
पोखराको चर्चित सूर्यदर्शन सहकारी प्रकरणमा शुक्रबार सरकारी वकिलको कार्यालयले सहकारीका तत्कालीन अध्यक्ष तथा ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। बाँकी प्रतिवादीहरूमाथि आज मुद्दा दर्ता गरिने तयारी भएको छ।
शुक्रबार दर्ता गरिएका सबै प्रतिवादी फरार छन्। अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो कायम गरिएको छ। यसअघि १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गर्दै सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता गरिएको थियो।
नयाँ अभियोगमा १६ जनालाई सहकारी दफामात्र थपिएको छ भने दुई जनामाथि सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको छ। जीबी राईलाई भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र राष्ट्र बैंकसम्बन्धी कसुर थपिएको छ।
प्रतिक्रिया