श्रेणी : मधेस
जनकपुर, ०६ पुस । महोत्तरीको मनरासिसवा नगरपालिका–४ साँढामा डाका समूहको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ ।
डाका समूहको आक्रमणमा परी पूर्वगाविस सचिवसमेत रहेका ७० वर्षीय सुशील झाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जैसवारले झा घरभित्र मृत अवस्थामा फेला परेको बताए। डाका समूहको आक्रमणमा परी झाको मृत्यु भएको डीएसपी जैसवारले जानकारी दिए ।
गएराति ७÷८ जनाको समूहमा आएका डाका समूहले झाको घरमा प्रवेश गरी लुटपाट गर्न खोज्दा उनले प्रतिकार गरेका थिए। प्रतिकार गरेका झाको घाँटी थिचेर हत्या गरिएको डीएसपी जैसवारको भनाइ छ ।
घरमा पत्नीसँग बस्दै आएका झाको घरमा हातहतियारसहित आएका डाकाहरूले सुनको औँठी र मंगलसुत्र लुटेर लगेको उनले बताए ।
‘हामी अहिले घटनास्थलमै छौँ। ७÷८ जनाको समूहमा हतियारसहित डाकाहरू आएको बुझिएको छ,’ हिमालप्रेससँग जैसवारले भने,‘सुनको औँठी र मंगलसुत्र लुटपाट भएको छ। थप कुरा हामी बुझ्दै छौँ ।’
डाका समूहले गरगहनासँगै ८० हजार नगदसमेत लुटपाट गरेको छ। घटनाबारे थप अनुसन्धान र डाकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया