वीरगन्ज :

मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ : अध्यक्ष केसी

श्रेणी : BANNER

1 year
birgunj report
191Views
0 Shares

काठमाडौं ।  नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्, ‘जनतासमक्ष के भन्ने र कसरी मुख देखाउन जाने, एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ । यसमा संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ ।’

विसं २०१४ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गरी विसं २०२१ मा बागलुङमा सङ्गठन बनाएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका केसी विसं २०३१ मा नेकपाको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । विसं २०२८ मा राजनीतिक प्रशिक्षणका क्रममा गिरफ्तारीमा परी नौ महिना कारागार जीवन बिताएका उनी लामो समय शिक्षण पेसामा संलग्न भए । विसं २०४० मा नेकपा (मसाल)का महामन्त्री, पाँचौँ महाधिवेशनमा पोलिटब्युरो सदस्य, विसं २०५६, २०६४, २०७० र २०७९ मा बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित केसीले विसं २०७२ कात्तिकदेखि २०७३ साउनसम्म उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे ।

राष्ट्रिय जनमोर्चा विसं २०५२ मा गठन भएपछि निरन्तर अध्यक्ष रहेका केसीको ‘संसदमा एक दशक २०५६–२०६७’ कृति प्रकाशित छ । नेता केसीले सदन होस् वा संसदीय समितिमा बोल्ने दिन सांसदहरूका लागि विशेष प्रतिक्षाको घडी बन्छ र सञ्चारकर्मी पनि उनलाई पर्खेर बस्ने गर्छन् । ठेट नेपाली भाषामा उखान टुक्कासहितको उनको वाक्कला पछिसम्म चर्चामा रहन्छ । सांसदको मुख्य जिम्मेवारी नीति र विधि निर्माण अर्थात् नियम–कानुन बनाउने तथा बनेका कानुनलाई समयानुकूल तुल्याउन संशोधन र परिमार्जन गर्ने रहेको उनले बताए ।

उनले सरकार निर्माण, बजेट बाँडफाँट, छलफल र अनुमोदन मुख्य कार्यभार भए पनि मतदातामा सांसद भनेको विकास निर्माणको पनि मुख्य जिम्मेवारीमा बसेका प्राणी हुन् भन्ने जबर्जस्त बुझाइ रहेको प्रतिक्रिया दिए । संसदमा विधेयक, नियमावली, ऐन, कानुन र नियमका काममा व्यस्त रहनुभन्दा विकास चाहियो भनी मन्त्रालय, मन्त्री र कर्मचारीका कोठा, चोटा चहार्ने प्रवृत्ति गलत रहेको बताउँदै पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री केसीले निर्वाचनमा उम्मेदवार मत माग्न जाँदा तिनसँग धारा, बाटो, विद्यालय, कुलो र तटबन्धको माग गर्ने मतदाताको स्तरले पनि मुख्य जिम्मेवारी र कर्तव्यलाई ओझेलमा पारेको धारणा राखे ।

बारीमा गएको पहिरो रोक्न आवश्यक जाली लिन वडा, पालिका र प्रदेशलाई छाडेर केन्द्रीय सांसदसँग माग गर्ने प्रवृत्ति कायम नै रहेको जनाउँदै उनले भने, ‘एक जना मतदाताले बारीमा गएको पहिरो रोक्न जाली पठाइदिनुपर्‍याे भनी मसँगै माग गरेको अवस्था छ । कार्यक्षेत्र र जिम्मेवारीबारे बुझाउन नसक्नु हाम्रो पनि कमजोरी छ ।’

चुनावका बेला जे भने पनि दिन्छु भनेर प्रतिबद्धता गरेपछि उनीहरूले माग गर्नु स्वभाविक भएको बताउँदै उनले भने, ‘जैसा गुरु ओहिसा चेला भनेजस्तै छ ।’ विधि र विधान बनाउनेको स्तर माथि उठेको भए मतदाताले पनि त्यही सिक्ने र बुझ्ने थिए भन्दै अध्यक्ष केसीले मत माग्ने बेलामा नसक्ने, नपुग्ने, नहुने आश्वासन बाँड्ने विषय ठीक नभएको प्रतिक्रिया दिए । सांसद भनेको नीति निर्माण गर्ने हुन् भन्ने बुझ्न जरुरी रहेको बताउँदै उनले संसदीय विकास कोषमार्फत पाँच करोड बराबरको योजना छनोट र खर्च गराउने विषयले पनि चुनाव खर्चिलो तुल्याएको धारणा राखे ।

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति किन विदेश जानुपथ्र्याे भनी प्रश्न गर्दै सांसद केसीले धेरै कुरा र थोरै काम गर्ने प्रवृत्ति सच्चिन आवश्यक रहेको विचार प्रकट गरे । एक प्रसङ्गमा उनले भने, ‘सांसद र संसदमा कमजोरी छ, आफू परिवर्तन भएको मानिसले मात्रै परिवर्तन गर्न सक्छ, त्यो यहाँ देखिन्न । सांसदकै स्तर नउठेको हो, अनि देशमा विकास र परिवर्तनको के सम्भावना हुन्छ र ?’

‘निर्वाचन भएको नौ महिना र सदन सञ्चालन भएको सात महिनासम्म प्राथमिकता परेको एउटा पनि विधेयक पारित हुन नसक्दा यसभन्दा लज्जाजनक कुरा के हुनसक्छ, यो मतदातालाई गर्नै नहुने र सुनाउनै नमिल्ने कुरा हो’, अध्यक्ष केसीले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *