
श्रेणी : अन्तर्राष्ट्रिय
पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको र्यालीमा भएको विस्फोटमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा एकसय भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ। अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ ।
अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । आक्रमणको कारण भने खुल्न सकेको छैन। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तूनख्वा प्रान्तको पाकिस्तानी आदिवासी जिल्ला बाजौरको खार सहरमा आइतवार आयोजित जेयूआई–एफ कार्यकर्ताहरूको सम्मेलनमा सयौँ मानिस उपस्थित थिए ।
सार्वजनिक भएका तस्बिरहरूमा कार्यक्रमस्थलको मञ्च नजिकै विस्फोट हुँदा सयौँ मानिस पालको तल जम्मा भएको देखिन्छ । विस्फोटमा जेयूआई–एफका क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको छ । जेयूआई–एफ एक प्रमुख धार्मिक राजनीतिक दल हो र उक्त पार्टी पाकिस्तानको सत्ताधारी गठबन्धनमा छ।


प्रतिक्रिया