
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताएका हुन् ।
विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ ।
‘कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु ।म अलिकति भावनात्मक छु नै म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो । अब गर्नुहुन्छ। के ? यो कुरा नभन्दा पनि हुन्थ्यो। थोरै भावनामा आएँ। भन्ने जरुरी त थिएन त्यो कुरा। मनमा यो भनेँ। मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त ? यो । मैले प्रधानमन्त्रीको भाषामा त्यो नबोल्नुपर्थ्यो। म ज्ञानुको बुवा भएर बोलेँ। प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ। मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त?’
प्रधानमन्त्री दाहालले आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने स्पष्ट पारे । सङ्कटको समयमा र गम्भीर राष्ट्रिय मुद्दामा आफूले सधैँ सहमति र सहकार्यलाई नै अगाडि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।
आफूले सार्वजनिक र अन्य स्थानमा समेत मनले बोल्ने गरेको स्पष्ट पार्दै उनले भने, “प्रधानमन्त्रीका रूपमा दिमागले बोल्नुपर्ने हो । यस विषयमा सैद्धान्तिक ज्ञान नभएको होइन ।” मनभित्र आफ्नो कुनै नियत नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूले आत्मसमीक्षा गरेको बताए ।
उनले भने, “जसले प्रस्ताव गरेर मलाई प्रधानमन्त्री बनायो, उसैले प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठाएको देख्दा थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेला हुने गरी यो विषय किन उठ्यो होला भनेर मभित्र प्रश्न उठेको छ ।”
यस पटकको प्रधानमन्त्री बन्ने, शतप्रतिशत मत प्राप्त गर्ने, गठबन्धन नयाँ बन्ने विषय नेपालको इतिहासमा नै नयाँ भएको उल्लेख गर्दै उहाँले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको भए पनि स्पष्टीकरणको मौकासमेत नदिई प्रश्न उठाउनु उपयुक्त नभएको बताए ।
अन्योल र अराजकतातर्फ मुलुक जान लागेको बेला सरकारले जनसरोकारका विषयमा उपयुक्त र प्रभावकारीरूपमा कदम चालिरहेको बेला अनावश्यक प्रश्न उठाइनु पनि गलत भएको प्रधानमन्त्रीको भनाइ छ । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार जरोसम्म नै पुग्ने र त्यसमा सबैको साथ जरुरी रहेको बताए ।
राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र यसको संरक्षण सम्वर्द्धन गर्न सबै मिलेर जानुपर्छ भन्नेमा प्रष्ट रहेको बताए ।
उनले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने सवालमा आफूले लगातार सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेतासँग महत्वपूर्ण छलफल गरेको जानकारी दिए । उनले भ्रष्टाचारमा संलग्नलाई जोगाउने र छुट दिने पक्षमा सरकार कुनै हालतमा नरहेको स्पष्ट गरे ।
सुशासन, लोकतन्त्र, संविधानको रक्षा, शान्ति प्रक्रियालाई टुङ्गो लगाउने र नागरिकलाई सहज सेवा दिने विषयमा सरकार स्पष्ट रहेको प्रधानमन्त्रीको भनाइ छ । आफूले पनि मिटरब्याजीका विषयमा किन ढिला गरियो भनेर प्रश्न गरेको उनले जानकारी गराए ।

प्रतिक्रिया