वीरगन्ज :

ललिता निवास प्रकरणमा कसैले आफ्नो दाग छोप्न कसैले अरूमाथि हिलो छ्याप्न नपाओस्ः बाबुराम भट्टराई

श्रेणी : BANNER

1 year
birgunj report
42Views
0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नहरेको दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमास्पष्टीकरण दिँदै भट्टराईले जनतालाई गुड र गोबर छुट्याउन सहज पार्नका लागि यो प्रकरण छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।

उनले कुनै पनि ढंगले यो प्रकरणमा आफ्नो र आफूसँग निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको दाबी गर्दै कसैले आजसम्म त्यस्तो आरोप पनि नलगाएको बताएका छन् । उनले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् भन्ने कुरामा सचेत रहनुपर्ने धारणा पनि राखेका छन् ।

उनले भनेका छन्,‘देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु । त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु।’

यस्तो छ भट्टराईको स्पष्टीकरण

ललिता निवास प्रकरणको पुछारमा मेरो प्रधानमन्त्रीकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ ।

मेरो करिब १९ महिने प्रधानमन्त्रीकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रधानमन्त्रीले सबै सम्झन सक्ने कुरो हुँदैन । मन्त्रिपरिषद कार्यालयका निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् । तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि मन्त्रिपरिषदको सम्बन्धित समितिमा पठाइन्छ । त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि मन्त्रिपरिषदले विधिवत् निर्णय गर्छ ।

ललिता निवाससम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर मन्त्रिपरिषदको सामाजिक (?) समितिमा छलफलपछि मन्त्रिपरिषदबाट पारित भएजस्तो लाग्छ । मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केहीबर्ष पहिले लिएको बयानमा पनि भनेको छु ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो । त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन । कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन ।

देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउककदै आएको छु । त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु ।

बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *