वीरगन्ज :

भरतपुर महानगरद्वारा ६ अर्ब ३१ करोडको बजेट प्रस्तुत

श्रेणी : अर्थ

2 years
birgunj report
17Views
0 Shares

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन् ।

बजेटमा शिक्षा, प्रविधि, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राखिएको छ । घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिजजन्य पदार्थको वाँडफाँटबाट प्राप्त आयसमेत गरी आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार र जनसहभागिताबाट ५० करोड, महानगरसँग रहेको बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ प्राप्त हुने अनुमान महानगरले गरेको छ ।

त्यस्तै, अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । जसलाई अन्तरसरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने उपप्रमुख अधिकारीले बताए ।

चालु आर्थिक वर्षमा एकमुष्ट १ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी गर्न बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोका लागि वडास्तरबाटै सम्पन्न हुने योजनाका लागि प्रत्येक वडाका लागि २ करोड ७५ लाखका दरले एकमुष्ट ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ ।

महानगरले पेस गरेको बजेटमा ‘शिक्षामा पढ्दै–कमाउँदै’ र ‘विद्यार्थीसँग मेयर कार्यक्रम’ लाई प्राथमिकता दिइएको छ । शिक्षा विकासको नीति कार्यान्वयन गर्नका लागि महानगरले १३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी भरतपुर महानगरमा समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल साइड निर्माणको लागि तीन करोड विनियोजन गरिएको उपप्रमुख अधिकारीले बताए ।

पछिल्लो समय महानगरले तदारुकता देखाएको केरुंगा र पुंगी खोलाले ओगटेको सार्वजनिक जग्गा संरक्षण एवम् पूर्वाधार निर्माणका निम्ति एक करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ । महानगरलाई ‘डिजिटलाइज्ड’ गर्नका लागि डिजिटल भरतपुर महानगर कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले तीन करोड रुपैयाँ विनियोजन भएको छ ।

उक्त रकम सूचना प्रविधिमा खर्च गरिने महननगरले जनाएको छ । त्यसैगरी महानगरले महत्वका साथ हेरेको ‘पर्यटन वर्ष सन् २०२४’ का लागि दुई करोड रुपैया छुट्याएको छ भने उक्त कार्यक्रम सफल बनाउन संघीय तथा प्रदेश सरकारसँग सहकार्य हुने महानगरले बताएको छ ।

त्यसैगरी धुर्मस–सुन्तली फाउण्डेशनले अलपत्र छोडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त विनियोजित रकम रङ्गशाला निर्माणका लागि कम हुने भएकोले त्यसका लागि संघीय तथा प्रादेशिक सरकारसँग सहकार्य गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *