
श्रेणी : अन्तर्राष्ट्रिय
रुसी सैन्य नेतृत्वलाई पदबाट हटाउने चेतावनी दिएका वाग्नर समूहका प्रमुखलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कारबाही गर्ने चेतावनी दिएका छन् । रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुखले यसअघि त्यहाँको सैन्य नेतृत्व हटाउन ‘जुनसुकै हदमा जाने’ चेतावनी दिएका थिए ।
त्यसअघि क्रेमलिनले उनलाई सशस्त्र विद्रोहको आरोप लगाएको थियो । रुसी राष्ट्रपति पुटिनले वाग्नर समूहको नाम नतोकी आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने काम भएको बताएका छन् ।
पुटिनले एक टेलिभिजनमार्फत् गरेको सम्बोधनमा रुसी समाजलाई विभाजित गर्नेहरूमाथि सजाय हुने चेतावनी पनि दिए । अहिले राजधानी मस्को र अन्य धेरै क्षेत्रहरूमा आतङ्कवाद नियन्त्रणसम्बन्धी शासन व्यवस्था लागु भएको पुटिनले बताएका छन् ।
यसअघि वाग्नर प्रमुख येभ्गेनी प्रिगोजिनले उनका लडाकुहरू युक्रेनको सीमाबाट फर्किएर रुसी सहर रोस्टोभ–अन–डन प्रवेश गरेको बताएका थिए। उनले आफ्ना सेनाले उनीहरूलाई रोक्न खोज्ने जो कोहीलाई ध्वस्त पार्ने चेतावनीसमेत दिए । स्थानीय गभर्नरले आफ्ना सर्वसाधारणलाई धैर्य गर्न र घरभित्रै बस्न आह्वान गरेका छन् ।
प्रिगोजिनले उनको सेनाले ‘नागरिकहरूको गाडीको लस्करमाथि आक्रमण गर्ने’ रुसी सैन्य हेलिकप्टरलाई खसालेको दाबी गरेका छन्। उनले घटना भएको स्थानबारे खुलाएका छैनन् र उनको दाबी तत्काल पुष्टि भएको छैन ।
वाग्नर रुसको सरकारी सेनासँग मिलेर युक्रेनविरुद्ध लडिरहेको निजी सैनिकहरूको समूह हो । हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना सुरु गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको छ ।
शुक्रबार ६२ वर्षीय वाग्नर प्रमुखले रुसको सरकारी सेनाले आफ्ना सेनाहरूमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको आरोप लगाए। घटनामा जिम्मेवारलाई सजाय दिलाइने उनले वाचा गरेका छन्। यस्तो आक्रमणबारे तथ्यहरू भने उनले उपलब्ध गराएनन् ।
अधिकारीहरूले आक्रमण भएको अस्वीकार गरेका छन् र उनलाई तत्काल आफ्ना गैर कानुनी कदमहरू रोक्न माग गरेका छन् । प्रिगोजिनले रुसी सैन्य नेतृत्वमा रहेका दुष्टहरूलाई रोक्नु पर्ने बताउँदै न्यायका लागि अभियान सुरु गर्ने वाचा गरे । राष्ट्रपतिको शक्ति, सरकार, प्रहरी र रुसी सुरक्षाकर्मीले नियमित काम गर्नेछन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस स्थितिको बारेमा चौबीसै घण्टा जानकारी लिइरहेको उनका प्रवक्ताले बताए । शुक्रबार राति मस्कोका सरकारी भवनहरू र यातायात सुविधाहरू सहित प्रमुख स्थानहरूमा सुरक्षा बढाइएको रुसको सरकारी समाचार संस्था टीएएसएसले जानकारी दिएको छ । रुसको लिपेट्स्क क्षेत्रका गभर्नरले पनि त्यहाँका बासिन्दाहरूलाई दक्षिणतर्फ यात्रा नगर्न आग्रह गरेका छन् ।
लिपेट्स्क, युक्रेनी सीमाबाट करिब २८० किलोमिटर उत्तर–पूर्वमा र रोस्टोभबाट करिब ५०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ । इगोर आर्टामोनोभले टेलिग्राममार्फत त्यस क्षेत्रमा सुरक्षा प्रबन्ध कडा बनाइएको र संवेदनशील पूर्वाधारहरूको सुरक्षामा ध्यान केन्द्रित गरेको जानकारी दिए ।
ह्वाइट हाउसले स्थितिको निगरानी गरिरहेको र अमेरिकी सहयोगीहरूसँग परामर्श गर्ने जनाएको छ । विगतमा प्रिगोजिनले प्रशंसा गरेका, युक्रेनस्थित रुसी सेनाका उपप्रमुख जनरल सर्गेई सुरोभिकिनले वाग्नरलाई उसको ‘अभियान रोक्न र लडाकुहरूलाई आफ्नो शिविरहरूमा फर्काउन’ आग्रह गरेका छन् ।
एफएसबीले वाग्नरका लडाकुहरूलाई उनको निर्देशन अवज्ञा गर्न र उनको गिरफ्तारीका निम्ति कदम चाल्न आह्वान गरेको छ । रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् वाग्नर शिविरमा रुसी हमलाबारे ‘सामाजिक सञ्जालमा प्रिगोजिनले फैलाएको सबै विवरण’ सत्य नभएको र ती सूचना उत्तेजक भएको बताएको छ ।
मे महिनामा एक भिडिओ सन्देश सार्वजनिक भएको थियो जसमा प्रिगोजिन वरपर आफ्ना सेनाहरूको शव राखेर उभिएका थिए। र, रुसी रक्षामन्त्री सर्गेई शोइगु तथा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभमाथि उनीहरूलाई पर्याप्त गोला बारुद उपलब्ध नगराएको आरोप लगाएका थिए । उनले शुक्रबार पुनः रुसको रक्षा मन्त्रालयले राष्ट्रपति र रुसी जनतालाई धोका दिइको आरोप लगाएपछि रक्षा मन्त्रालयले उक्त विज्ञप्ति जारी गरेको हो।


प्रतिक्रिया