
श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोही माथि कारबाही हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएकाले यसमा संलग्न एकजना मान्छे पनि छुट्न नहुने बताएका हुन् ।
उनले अपराधमा संलग्न चाहे घरको मान्छे होस् वा बार्दलीको, कोही पनि छुट्न नहुने बताए । उनले भने,’यो राज्यविरुद्धको अपराधमा संलग्न भएको मान्छे चाहे त्यो घरको होस्, चाहे त्यो बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् वा नाता होस् । सलाम गर्ने होस् वा सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध पानीको पानी हुनुपर्छ ।’
महामन्त्री थापाले यस प्रकरणमा सरकारको परीक्षा भइरहेको र यसपछि न्यायालयको परीक्षा सुरु हुने बताए । ‘सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि अब न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषय न्याय गरेँ भनेर मात्रै भन्न पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ,’ उनले भने ।
थापाले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान कसरी भइरहेको छ भन्ने विषय सबै नागरिकले हेरिरहेको बताए । उनले भने, ‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया