
श्रेणी : अर्थ
काठमाडौँ । यसवर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयले अनुमान गरेको छ ।
योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्याङ्क कार्यालयको भनाइ छ । यसअघि यस्तो जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो ।
आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो । यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६/७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशतले ऋणात्मक भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।


प्रतिक्रिया