
श्रेणी : BANNER

वीरगंज (पर्सा), १० फागुन / वीरगंज महानगरपालिका वडा नम्वर ४ विर्तामा स्वीकृति बिना संचालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा महानगरपालिकाले शिल गरेको छ । वीरगंज महानगरपालिकाद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति बिना संचालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो ।
टोलीले चित्रांस पोली हेल्थ क्लिनिक, त्यसै अन्तर्गत रहेको प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बिना संचालन गरेको भेटेपछि शिलबन्दी गरिएको समितिका सदस्य जयप्रकाश महतोले बताए । तीन वटै स्वास्थ्य संस्था स्वीकृति बिना संचालनमा हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको पाइएको उनको भनाई छ । महानगरपालिकाले गएको एक सातादेखि वीरगंजमा संचालित प्याथोलोजी तथा क्लिनिकहरुको अनुगमनलाई तिब्र पारेको छ ।
अनुगमनमा जाँदा स्वीकृति विना संचालनमा रहेको भेटिएकालाई बुधबारबाट शिलबन्दी गर्न सुरु गरिएको वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । बुधबार जिल्ला प्रशासन कार्यालय, वीरगंज महानगरपालिका र प्रहरीको रोहबरमा लाहाछाप लगाएर तीनै वटा संस्थामा शिल गरिएको हो । टोलीले अनुगमनका क्रममा तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगंज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरित संचालनमा रहेको भेटिएकाले उनीहरुलाई तत्काल बन्द गर्न र मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न चेतावनी समेत दिइएको जयसवालले भनाई छ ।

यस अघि महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था संचालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले बुधबारबाट कारबाही प्रक्रियालाई कडाई पारिएको जयसवालले जानकारी दिए । अनुगमनमा टोली पुगेको जानकारी पाएपछि अनुमति बिना संचालनमा रहेका कतिपय क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसल संचालकहरु सटर बन्द गरेर फरार भएको पनि भेटिएको उनको भनाई छ । महानगरले अनुगमनलाई निरन्तरता दिने भएकाले भागेर समाधान नहुने भन्दै प्रकृया पुर्याएर संचालन गर्न सबैलाई आग्रह गरे ।
नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि महानगर महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा समितिले त्यसलाई नियन्त्रण गर्न अनुगमनलाई तिब्रता दिएको हो । स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्य संस्थाहरुबाटै लापरवाही हुनु गम्भिर भएकाले महानगरले अनुगमनलाई तिब्रता दिँदै कारबाहीलाई कडाई गर्न लागेको हो । अनुगमन टोलीमा समितिका सदस्य जयप्रकाश महतो, स्वास्थ्य शाखा प्रमुख रितेश जयसवाल, नर्सिङ्ग अधिकृत इन्दिरा लोहनी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको सहभागिता रहेको थियो । वीरगंज टाईम्स









प्रतिक्रिया