
श्रेणी : राजनीति
भक्तपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशले अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।
मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आइतबार भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका पूर्वराष्ट्रपति यादवले भने, ‘नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन ।’
असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने भन्दै स्व राणाको छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरे ।
पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजारसहित वरिष्ठ साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे । सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गरे ।
राणा परिवारले एसएलसी उत्तीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय, सानोठिमीका पूर्वविद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई ५१ हजारसहित छात्रवृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गरे ।
नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरी, कांग्रेस नेता एवं पूर्वसांसद लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर सभापति एवं सांसद दुर्लभ थापाले स्वर्गीय राणाको दिएको असल संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पुर्याएको चर्चा गरे ।

प्रतिक्रिया