श्रेणी : मधेस
वीरगंज (पर्सा), १४ वैशाख । पर्साको छिपहरमाई गाउँपालिकामा सात महिनादेखि तलब नपाएको गुनासो गर्दै करारका कर्मचारीहरूले आन्दोलन थालेका छन् । उनीहरूले गाउँपालिका कार्यालयमै तालाबन्दी गरेर धर्ना सुरु गरेका छन्, जसका कारण सम्पूर्ण प्रशासनिक कामकाज ठप्प बनेको छ ।
बिहानैदेखि भिस्वास्थित गाउँपालिका कार्यालय अगाडि भेला भएका कर्मचारीहरूले नियमित पारिश्रमिक नपाउँदा दैनिक जीवन नै प्रभावित भएको बताएका छन् । लामो समयदेखि समस्या समाधानका लागि पहल गर्दा पनि सम्बन्धित निकायबाट कुनै ठोस कदम नचालिएको उनीहरूको आरोप छ ।
वडा नम्बर ५ मा कार्यरत कम्प्युटर अपरेटर लालबाबु महमदका अनुसार कात्तिक महिनादेखि नै तलब रोकिएको छ । उनले सम्झौताको अवधि समेत समयमै नवीकरण नभएको र तलबसमेत नपाउँदा आर्थिक संकट झेल्नुपरेको गुनासो गरे ।
कर्मचारीहरूका अनुसार गाउँपालिका तथा पाँचवटै वडा कार्यालयमा कार्यरत करिब ५० जना कर्मचारी विगत सात महिनादेखि पारिश्रमिकविहीन छन् । तलब निकासाका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग पटक–पटक समन्वय गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।
आन्दोलनका कारण गाउँपालिका र सबै वडा कार्यालयको सेवा प्रवाह पूर्ण रूपमा प्रभावित भएको छ । सेवाग्राहीहरू आवश्यक सेवा लिन नपाएर मारमा परेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवानसँग सम्पर्क गर्ने प्रयास असफल भएको छ । यद्यपि, उनको स्थानमा सरुवा भएका संजीव कुमार साह हालसम्म कार्यालयमा हाजिर नभएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया