वीरगन्ज :

स्थायी कर्मचारी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

श्रेणी : प्रदेश

3 days
Pradeep Sah
2.2kViews
1925 Shares

काठमाडौं,०६ साउन । सरकारले स्थायी कर्मचारी भर्ना प्रक्रिया रोक्ने निर्णय गरेपछि त्यसको विरोधमा युवा तथा विद्यार्थीहरू काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले सचिवस्तरीय बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पूर्वस्वीकृतिबिना लोकसेवा आयोगमार्फत पदपूर्ति नगर्ने निर्णय गरिएको भन्दै उक्त व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले लोकसेवा आयोगको पूर्वनिर्धारित कार्यतालिका अनुसार विज्ञापन खुलाएर परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

वर्षौँदेखि लोकसेवाको तयारीमा जुटेका हजारौँ युवाको भविष्य अन्योलमा पार्ने गरी सरकारले निर्णय गरेको भन्दै प्रदर्शनकारीहरूले असन्तुष्टि व्यक्त गरे। उनीहरूको भनाइमा यस्तो निर्णयले योग्य र प्रतिस्पर्धी युवाको अवसर खोस्ने तथा करार प्रणालीलाई थप प्रोत्साहन गर्ने जोखिम बढाएको छ।

प्रदर्शनका क्रममा ‘लोकसेवा प्रक्रिया अविलम्ब सञ्चालन गर’, ‘स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’ र ‘देशमै बस्न र रोजगारी गर्ने वातावरण बनाऊ’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
सरकारले नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणपछि फाजिल कर्मचारीको व्यवस्थापन नभएसम्म स्थायी पदपूर्तिमा रोक लगाउने तथा प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृतिलाई अनिवार्य बनाउने निर्णय गरेको छ।

यसै निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरूले रिक्त दरबन्दीहरू कानुन र योग्यता (मेरिट) का आधारमा खुला प्रतिस्पर्धामार्फत समयमै पूर्ति गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *