काठमाडौँ,१५ भदाै । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने जोखिमयुक्त क्षेत्रमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लामा सडकको अवस्था गम्भीर रहेको जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्गको सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। झापाबाट ताप्लेजुङ जोड्ने उक्त सडक अवरुद्ध भएपछि यात्रुका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोको जोखिमका कारण सडक सञ्चालनमा कडाइ गरिएको छ। काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिने जनाइएको छ।
मकवानपुरमा कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ।
नुवाकोटमा टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्लाका अन्य मुख्य सडक तथा पासाङ ल्हामु सडकखण्डसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। यस्तै, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
कर्णाली प्रदेशको मुगुमा पनि सडक अवरुद्ध भएको छ। छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो गएपछि नाग्म–मुगु गमगढी सडकखण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायबाट आवश्यक प्रयास भइरहेको छ। वर्षा जारी रहेकाले पहिरो तथा बाढीको जोखिम थप बढ्न सक्ने भन्दै यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया