वीरगन्ज :

दुई वर्षदेखि अल्झिएको जगदम्बा स्टिल अतिक्रमण फाइल, निर्णय अझै अनिश्चित

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.9kViews
1008 Shares

बारा,३० चैत । बारा–पर्सा औद्योगिक करिडोरस्थित जगदम्बा स्टिल प्रा.लि.ले पर्सा राष्ट्रिय निकुञ्जको जग्गा अतिक्रमण गरेको आरोपमा सुरु भएको अनुसन्धान दुई वर्ष बितिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १ गतेदेखि २५ बिघाभन्दा बढी निकुञ्जको सार्वजनिक जग्गा अतिक्रमण भएको विषयमा अनुसन्धान थालेको थियो। त्यसक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र निकुञ्ज कार्यालयबीच पटक–पटक पत्राचार भए पनि फाइल अझै ‘घुमिरहेको’ पाइएको छ।

उजुरीमा उद्योगले निकुञ्जको जग्गा मिचेर लालपुर्जा बनाएको, संरचना निर्माण गरेको र व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरिएको छ। साथै नजिकैका हुलास आल्मुनियम र हुलास स्टिलले समेत सार्वजनिक जग्गा अतिक्रमण गरेको दाबी गरिएको छ।

निकुञ्ज मध्यवर्ती परिषद्का अध्यक्ष सिताराम अर्यालका अनुसार दुई वर्षमा दर्जनौँ पटक पत्राचार भए पनि कारबाही अघि बढ्न सकेको छैन। “अतिक्रमण भएको स्पष्ट भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ,” उनले बताए।

प्राविधिक अध्ययनका क्रममा जीतपुरसिमरा उपमहानगर र नापी कार्यालयले उद्योगले भाङ्ग्रे खोलालाई ढलान गरेर ढल निकासका रूपमा प्रयोग गरेको र केही सार्वजनिक जग्गा निजी प्रयोजनमा ल्याएको निष्कर्ष निकालेका छन्। नापी कार्यालयका प्रमुख राधेश्याम साहले प्रतिवेदन बुझाइसक्दा पनि कारबाही नहुनु दुःखद् भएको टिप्पणी गरे।

यता निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने अनुसन्धान टुंगो लागेपछि मात्र औपचारिक जानकारी सार्वजनिक गरिने बताएका छन्।

तीन दशकदेखि विस्तार हुँदै आएको उद्योगले कति जग्गा कानुनी रूपमा खरिद गरेको र कति सार्वजनिक जग्गा प्रयोग गरिरहेको हो भन्ने विषय अझै अस्पष्ट छ। सरोकारवालाहरूले भने प्रतिवेदन सार्वजनिक गरी तत्काल कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *