रौतहट,३० चैत । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा राजस्व सङ्कलनतर्फ उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष लक्ष्यअनुसार मात्र नभई केही सूचकमा लक्ष्यभन्दा माथि प्रगति देखिएको कार्यालयले जानकारी दिएको छ।
कार्यालय प्रमुख विकासकुमार रजक का अनुसार, चालु आर्थिक वर्षका लागि ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य राखिएकोमा चैत २८ गतेसम्म ३० करोड १८ लाखभन्दा बढी अर्थात् ९० प्रतिशतभन्दा बढी लक्ष्य हासिल भइसकेको छ।
मासिक प्रगतितर्फ हेर्दा पनि उल्लेखनीय सुधार देखिएको छ। मंसिर र पुस महिनामा लक्ष्यभन्दा निकै बढी राजस्व सङ्कलन भएको छ भने माघ, फागुन र चैत महिनामा पनि अपेक्षाभन्दा राम्रो उपलब्धि हासिल भएको कार्यालयले जनाएको छ। समग्रमा चैत अन्त्यसम्म लक्ष्यको १२३ प्रतिशतभन्दा बढी प्रगति भएको दाबी गरिएको छ।
राजस्व वृद्धि हुनुका प्रमुख कारणहरूमा कोइला, गुड (सख्खर) र टायल्स जस्ता वस्तुको आयातमा वृद्धि हुनु, साथै मुद्दा फर्छ्यौट गरी मालसामान तथा सवारी साधन समयमै लिलाम बिक्री हुनु रहेको प्रमुख रजकले बताए। चालु वर्षमा मुद्दा सङ्ख्या घट्नु र भएका मुद्दाहरू छिटो समाधान हुनु पनि सकारात्मक पक्षका रूपमा लिइएको छ।
त्यस्तै, लिलाम प्रक्रियामार्फत मात्रै चालु आर्थिक वर्षमा ४२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। निकासी तर्फ पनि सुधार देखिएको छ, विशेषगरी भेनियर र पिभिसी पाइप निर्यातबाट राजस्व वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
यद्यपि, कार्यालयमा प्लान्ट क्वारेन्टाइन सुविधा नहुँदा खाद्यान्न जाँचपासमा समस्या रहेको छ। साथै, वीरगञ्ज र मलङ्गवा भन्सारमा निर्भर रहनुपर्ने अवस्था रहेको तथा बाढीका कारण स्थानीय उत्पादन प्रभावित हुने चुनौती अझै कायम रहेको बताइएको छ।
स्थानीय सरोकारवालाहरूका अनुसार, चालु वर्षमा लक्ष्य नजिक पुग्नु र मासिक रूपमा लक्ष्यभन्दा बढी प्रगति हुनु गौर भन्सार कार्यालयको कार्यक्षमतामा सुधार आएको संकेत हो।

प्रतिक्रिया