वीरगन्ज :

सरकार गठनका क्रममा कूटनीतिक मान्यता विपरीतका कार्य भएः अध्यक्ष ओली

श्रेणी : राजनीति

2 years
birgunj report
44Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीले सरकार बनाउन बाह्य हस्तक्षेप भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल शुरु भएको बताए ।

उनले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको पनि बताए । उनले भने, ‘अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन कम्पाउण्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ । हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं, यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन ।’

उनले नेपालले कुनै पनि विदेशी मुलुकको आन्तरिक राजनीतिमा चासो नराख्ने र विदेशी मुलुकले पनि त्यस्तो गर्न नहुने बताए । अध्यक्ष ओलीले नेपालमा जुन सरकार बन्यो त्यससँग मिलेर काम गर्न छिमेकी मुलुकहरूलाई आग्रह गरे ।

उनले भने,‘हामीमाथि पनि अर्घेल्याइँ नहोस्, हामी पनि गर्दैनौं । हामी हाम्रा छिमेकीहरूलाई जो सरकार बन्छ त्योसँग मिलेर काम गर्न आग्रह गर्छौं । हामी सबै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौं ।’

उनले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिए । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराए ।

पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरुमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले सांसदहरुले समयसीमालाई हेक्का राखेर अघि बढनुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *