वीरगन्ज :

राजेशमान सिंहलाई विशेष अदालतबाट क्लिन चिट, मेयर पदको निलम्बन फुकुवा

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.2kViews
1603 Shares

वीरगन्ज,२९ भदौ । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्। अदालतको सफाइसँगै सिंहमाथि लागेको निलम्बनसमेत फुकुवा भएको छ।

विशेष अदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका सातै जनालाई सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि प्रचलित कानुनी व्यवस्थाअनुसार सार्वजनिक पदमा रहेका सिंह स्वतः निलम्बनमा परेका थिए।

अख्तियारले सिंहमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी झूटो विवरणका आधारमा नागरिकता दिलाएको आरोप लगाएको थियो।

तर सिंहले भने रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै उक्त आरोप अस्वीकार गर्दै आएका थिए।

यस प्रकरणमा अख्तियारले सिंहसँगै वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि प्रतिवादी बनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *