वीरगन्ज :

वीरगन्जको घडिअर्वामा पाँचदिने गणेश चतुर्थी महोत्सव सुरु

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.4kViews
1142 Shares

वीरगन्ज,२९ भदौ । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित देशभर गणेश चतुर्थी पर्व मनाइँदै गर्दा वीरगन्जको घडिअर्वामा पनि गणेश चतुर्थी महोत्सव सुरु भएको छ।

वीरगन्ज महानगरपालिका–१० घडिअर्वास्थित रामजानकी मन्दिर परिसरमा भगवान् गणेशको मूर्ति स्थापना गरी सोमबारदेखि पाँचदिने महोत्सव सुरु गरिएको हो। आकर्षक टेन्ट–पण्डाल निर्माण गरी सजाइएको मन्दिर परिसरमा विधिपूर्वक पूजा आराधना गर्दै महोत्सवको शुभारम्भ गरिएको आयोजकले जनाएको छ।

महोत्सवका क्रममा गणेशको मूर्तिअघि १५१ किलोको लड्डु बनाएर प्रसादका रूपमा राखिएको छ। ठूलो परिमाणमा तयार पारिएको लड्डु भक्तजनका लागि मुख्य आकर्षणसमेत बनेको छ।

जय गणेश झन्कार मण्डल परिवार र जय गणेश पूजा सञ्चालक समितिको संयुक्त आयोजनामा सुरु भएको महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा प्रत्येक साँझ सन्ध्या आरती, महाप्रसाद वितरण, अखण्ड ज्योति, भजन–कीर्तन तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

महोत्सव आयोजक समितिका अध्यक्ष मदनप्रसाद कलवारका अनुसार धार्मिक तथा सांस्कृतिक कार्यक्रमका लागि स्थानीय कलाकारसँगै भारतका विभिन्न सहरबाट समेत कलाकारलाई आमन्त्रण गरिएको छ।

शास्त्रीय मान्यताअनुसार भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ। कुनै पनि धार्मिक कर्मअघि गणेशको पूजा गर्ने परम्परा रहेकाले गणेशलाई अग्रपूजाको अधिकार प्राप्त देवताका रूपमा समेत पूजा गरिन्छ। गणेश चतुर्थीका अवसरमा भक्तजनले जीवनमा आइपर्ने विघ्न–बाधा हटोस् र सुख, शान्ति तथा समृद्धि प्राप्त होस् भन्ने कामनासहित गणेशको पूजा आराधना गर्ने गर्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *