श्रेणी : BANNER
जनकपुरधाम , १५ साउन । । धनुषाको सबैला नगरपालिका–१२ नहरचोक स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्तिको घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई धार्मिक विवादको रूपमा नलिन आग्रह गरेको छ।
प्रहरीका अनुसार साउन १५ गते राति मन्दिर परिसरमा करिब ४० वर्षीय को बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानबाट ती व्यक्ति मन्दिरका पुजारी नभई बाहिर काम गर्ने र रातको समयमा मन्दिरमा आएर सुत्ने व्यक्ति रहेको खुलेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ तालिमप्राप्त खोजी कुकुरसहितको अनुसन्धान टोली परिचालन गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटना आपराधिक प्रकृतिको देखिएकाले यसलाई धार्मिक विवादसँग जोडेर अफवाह फैलाउन नहुने प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न सबै नागरिकसँग संयमता अपनाउन आग्रह गरेको छ। साथै, अपुष्ट सूचना वा भ्रामक प्रचारप्रसार नगर्न पनि अनुरोध गरिएको छ।
प्रहरीले घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरिने प्रतिबद्धता दोहोर्याउँदै अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको जनाएको छ।


प्रतिक्रिया