वीरगन्ज :

रमेश रिजालको आरोप: सरकारको दम्भ र अराजकताले देश संकटको बाटोमा

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
2.7kViews
1733 Shares

जगरनाथपुर,१३ साउन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकारले बहुमतको आडमा अहंकार र अराजकता प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।

जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमावर्ती क्षेत्रका नागरिकले दैनिक रूपमा विभिन्न समस्या झेलिरहे पनि सरकार त्यसप्रति संवेदनशील बन्न नसकेको बताए। किसानहरू मल अभावबाट पीडित भइरहेका बेला सरकार जनताको समस्या समाधानभन्दा सत्ता दम्भमा केन्द्रित भएको उनको टिप्पणी थियो।

रिजालले सरकारले आफ्नो अहंकार र मनपरी शैलीलाई समयमै नियन्त्रण नगरे मुलुक गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिए। अहिले देशलाई आर्थिक तथा सामाजिक रूपमा सुधार गर्ने अवसर रहे पनि सरकार विकासका कामभन्दा तोडफोड र धरपकडजस्ता गतिविधिमै अल्झिएको उनको आरोप थियो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार स्पष्ट एजेन्डा र कार्यक्रमविनै सञ्चालन भइरहेको दाबी गर्दै अब नागरिक सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। अहिलेको शासनशैलीका कारण आगामी दिनहरू अझ चुनौतीपूर्ण बन्न सक्ने भएकाले सबै नेपाली एकजुट भएर देशको हितमा सोच्नुपर्ने उनको भनाइ थियो।

‘समृद्धिका लागि वृक्षारोपण’ भन्ने नारासहित आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमन्त्री जनार्दन सिंह, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, नेकपाका नेता वीरेन्द्र,वन डिभिजन बाराका प्रमुख सुजित झा यादवलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए।कार्यक्रमको संचालन प्रबेन्द्र साहले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *