वीरगन्ज :

कार्बाइड प्रयोग गरी पकाइएका आँप बजारमा छ्याप्छ्याप्ती, उपभोक्ताको स्वास्थ्य जोखिममा

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.6kViews
1757 Shares

वीरगन्ज,२८ जेठ ।  प्राकृतिक रूपमा पाक्ने समय नपुग्दै विभिन्न बजारमा क्याल्सियम कार्बाइड प्रयोग गरेर कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ। प्रतिबन्धित वा शंकास्पद रसायनको सहायताले काँचो आँप छिट्टै पाक्ने बनाइ बजारमा पुर्‍याइँदा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ।

मधेश प्रदेशसहित देशका विभिन्न क्षेत्रमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप बिक्री भइरहेको स्थानीयवासीहरूको भनाइ छ। यद्यपि यस्ता फलफूलमा प्रयोग हुने रसायनबारे अधिकांश उपभोक्ता तथा सम्बन्धित नियामक निकायसमेत पर्याप्त रूपमा जानकार देखिएका छैनन्।

आँप व्यवसायमा संलग्न एक व्यापारीका अनुसार सिजनअघि नै बजारमा आँप उपलब्ध गराउन काँचो फललाई छिटो पाकाउन क्याल्सियम कार्बाइड प्रयोग गरिन्छ। उनका अनुसार अन्य विकल्पको तुलनामा यसले चाँडो परिणाम दिने भएकाले व्यापारीहरू यसको प्रयोगतर्फ आकर्षित हुने गरेका छन्।

चिकित्सक दिलीप साहले क्याल्सियम कार्बाइड प्रयोग गरी पकाइएका आँप सेवन गर्दा टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्ने बताउनुभयो। उहाँका अनुसार यसले दीर्घकालीन रूपमा मुटु, कलेजो र मस्तिष्कमा समेत नकारात्मक प्रभाव पार्ने जोखिम रहन्छ।

उपभोक्ता डोमन साहले बढी नाफा कमाउने उद्देश्यले केही व्यापारीहरूले काँचो आँपलाई रसायनको प्रयोगमार्फत पकाएर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो गर्नुभयो। सप्तरीका राजविराज, कठौना, महुली, हनुमाननगर, कञ्चनपुर, बोदेबरसाइन, कल्याणपुर र कुशहा लगायतका बजारमा यस्ता आँप बिक्री भइरहेको स्थानीयहरूले बताएका छन्।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा मालदह, बम्बई, आम्रपाली, मल्लिका, केलुवा, कृष्णभोग, कल्कत्तिया र सरही जातका आँप उत्पादन हुने गरेका छन्। यहाँ उत्पादित आँप काठमाडौँ, विराटनगर, हेटौँडा तथा पोखरा लगायतका प्रमुख सहरमा समेत आपूर्ति हुँदै आएको छ।

यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले भने बजारमा बिक्री भइरहेका आँपको नियमित अनुगमन तथा प्रयोगशाला परीक्षण हालसम्म नभएको जनाएको छ। कार्यालय प्रमुख बिमल भट्टराईका अनुसार विगतमा गरिएको परीक्षणका क्रममा क्याल्सियम कार्बाइडको प्रयोग भेटिएको थिएन, तर इथिलिन रसायन प्रयोग भएको पाइएको थियो। उहाँले इथिलिन स्वास्थ्यका लागि हानिकारक नरहेको दाबी गर्नुभयो।

बजारमा कृत्रिम रूपमा पकाइएका फलफूलको बिक्री बढिरहेका बेला उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायको प्रभावकारी अनुगमन र परीक्षण आवश्यक देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *