
बारा,२८ जेठ । मधेश प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यसहित बिहीबारदेखि ‘मधेश ट्राभल मार्ट’ सुरु भएको छ। कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्ड को सहकार्यमा गरिएको हो।
मार्टबारे जानकारी दिन नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले सिमरामा पत्रकार सम्मेलन आयोजना गरेको थियो। कार्यक्रमका अनुसार वीरगञ्ज, बारा र जनकपुरमा विभिन्न सत्र तथा गतिविधिहरू सञ्चालन गरिनेछन्।
नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माका अनुसार कार्यक्रमले मधेशका आठै जिल्लाका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति र परिकारलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। विशेषगरी बारा–पर्सा क्षेत्रलाई केन्द्रमा राख्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना रहेको छ।
कार्यक्रमको सचिवालय बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको छ भने वीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाको समेत सहकार्य रहेको जनाइएको छ।
चार दिनसम्म चल्ने मार्टमा नेपाल र भारतका विभिन्न शहरबाट २०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रिएटर तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ।आयोजकका अनुसार यो मार्टले मधेश प्रदेशलाई भारतीय पर्यटन बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रम नेपाल पर्यटन बोर्ड, स्थानीय तह र निजी क्षेत्रको सहलगानीमा आयोजना गरिएको हो। दीर्घकालीन रूपमा मधेशका पर्यटन गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया