वीरगन्ज :

वीरगन्ज ट्राफिकको नेतृत्व परिवर्तन, श्रेष्ठले सम्हाल्ने जिम्मेवारी

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.6kViews
1171 Shares

 

वीरगन्ज,२८ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ५०९ जना प्रहरी निरीक्षकहरूको एकैपटक गरेको सरुवाअन्तर्गत कटवाललाई नयाँ जिम्मेवारीमा खटाइएको हो।

सरुवा सूचीअनुसार कटवाललाई काठमाडौंस्थित अपराध अनुसन्धान विद्यालय प्रशासन शाखामा पठाइएको छ। उनको स्थानमा काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखामा कार्यरत प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ वीरगन्ज ट्राफिक कार्यालयको नयाँ प्रमुखका रूपमा आउने भएका छन्।

यसैबीच, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जअन्तर्गत कार्यरत अन्य तीन जना प्रहरी निरीक्षकहरूको पनि सरुवा गरिएको छ। अनुसन्धान योजना शाखामा कार्यरत अनुप गुरुङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा खटाइएको छ।

त्यस्तै, पोलिग्राफ एकाइ वीरगन्जका प्रहरी निरीक्षक दीपेन्द्र कुमार यादवलाई मधेश प्रदेश प्रहरी गण, जनकपुरमा सरुवा गरिएको छ भने कर्मचारी प्रशासन शाखामा कार्यरत श्यामसुन्दर यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा पठाइएको छ।

प्रहरी प्रधान कार्यालयले सरुवा सूची सार्वजनिक गर्दै सम्बन्धित अधिकृतहरूलाई नयाँ कार्यस्थलमा जिम्मेवारी सम्हाल्न निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *