
बीरगन्ज,२६ जेठ । विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले आइतबार प्रेस विज्ञप्तिमार्फत खोजतलास अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो।
प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका–५ का ४७ वर्षीय छोटेलाल प्रसाद गुप्तालाई बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। लामो समयदेखि फरार रहेका उनलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ।
यस्तै, महागढीमाई नगरपालिका–१ का ५५ वर्षीय पुष्कर कुमार चौधरी, ३१ वर्षीय भुलेन्द्र प्रसाद यादव र ३५ वर्षीय विजय कुमार ठाकुरलाई चेक अनादर मुद्दामा क्रमशः १ हजार, १ हजार ५ सय र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसैगरी, कलैया उपमहानगरपालिका–४ का ३५ वर्षीय गणेश कुमार मिस्तार र वडा नं–८ का ४२ वर्षीय राजेश कुमार यादवलाई क्रमशः चेक अनादर र विदेशी विनिमय अपचलन मुद्दामा सजाय तोकिएको थियो। राजेश यादवमाथि ३ लाख रुपैयाँ जरिवाना रहेको प्रहरीले जनाएको छ।
प्रहरीले विश्रामपुर गाउँपालिका–५ का ५० वर्षीय अरविन्द कुमारलाई लेनदेन बिगोसम्बन्धी मुद्दा तथा कोल्हबी नगरपालिका–१ का ३२ वर्षीय पप्पु जयसवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैलाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीविरुद्ध खोजी अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया