श्रेणी : BANNER

बीरगन्ज,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग जेठ २० गते भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका लामिछानेको भेटवार्ता कार्यक्रम भारतीय जनता पार्टी (भाजपा) ले सार्वजनिक गरेको हो। भेटघाटको स्थान र समय भने अझै निश्चित भइनसकेको बताइएको छ।
भ्रमणका क्रममा उनी भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम रहेको छ।
भाजपाको निमन्त्रणामा भारत पुगेका लामिछाने मंगलबार बिहान पार्टीको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ, जहाँ भाजपाका शीर्ष नेताहरूसँग छलफल हुने बताइएको छ। त्यही दिन भारतीय विदेशमन्त्री एस. जयशंकर सँग पनि भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
भाजपाले सभापति लामिछानेका लागि रात्रिभोजको आयोजना गर्ने तयारी गरेको छ, जसमा भारतीय उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने बताइएको छ।
यसैबीच, भारतस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चले जेठ २१ गते स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गर्ने जनाएको छ। सो कार्यक्रममा भारतमा रहेका नेपालीहरूको सहभागिता रहनेछ। लामिछानेले आफ्नो भारत भ्रमणका क्रममा अयोध्यास्थित राम मन्दिरको समेत दर्शन गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया