श्रेणी : BANNER
सिरहा, १४ वैशाख । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाललाई विवादास्पद घटनापछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ । स्थानीयसँग भएको विवाद, भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग लगायतका विषयमा छानबिन गर्न उनलाई बाहिनीमा सरुवा गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने बरियारपट्टी क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भएको थियो । सोही क्रममा डीएसपी हमाल आक्रोशित ढंगले प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना थप चर्चामा आएको हो । भिडियोमा उनले स्थानीयलाई ‘तिमीहरू तस्कर हौ’ भन्दै आक्रोश व्यक्त गरेको स्पष्ट सुनिन्छ ।
उक्त व्यवहारप्रति आपत्ति जनाउँदै स्थानीयहरूले प्रतिवाद गरेका थिए । उनीहरूले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्ने प्रहरी अधिकारीले आफूलाई तस्कर भन्न नमिल्ने भन्दै प्रश्न उठाएका छन् । भिडियोमा हमाल बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा आएको देखिन्छ ।
विवाद बढेपछि स्थानीयले सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए । स्थलगत निरीक्षणपछि सांसद यादवले सम्पूर्ण स्थानीयलाई तस्करको संज्ञा दिनु गैरकानुनी र अनुपयुक्त भएको टिप्पणी गरेका छन् । साथै, प्रहरी पोशाकमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गरेर सर्वसाधारणलाई त्रसित पार्ने कार्य अस्वीकार्य भएको भन्दै निष्पक्ष अनुसन्धान र आवश्यक कारबाहीको माग गरेका छन् ।
यसैबीच, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाका अनुसार स्थानीय र प्रहरीबीचको यही विवादका कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरी हेडक्वाटरमा तानिएको हो । उनी यसअघि सशस्त्र प्रहरी बल माडर अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए ।
स्थानीयवासीहरूले घटनामा संलग्न प्रहरीमाथि कडा कारबाहीको माग गरेका छन् भने सशस्त्र प्रहरी बलले घटनाबारे छानबिन अघि बढाइसकेको जनाएको छ ।

प्रतिक्रिया